पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी, ६ असोज – शरद ऋतुको सुरुआतसँगै मौरिस हर्गोज पदमार्ग हुँदै अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रीको संख्यामा वृद्धि भएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविरमा हाल दैनिक १५ देखि ४० जना पर्यटक पुग्ने गरेको वडा सदस्य श्याम पुर्जाले जानकारी दिनुभयो।

दसैँ–तिहार बिदामा पर्यटकको चाप अझ बढ्ने अपेक्षा गरिएको छ। मिस्त्रीखोलाको किनार, अग्ला झरना, हिमश्रृङ्खला, दुर्लभ वनस्पति, वन्यजन्तु र अनौठो भूगोल अवलोकन गर्दै हुमखोलादेखि दुई दिनको पैदल यात्रापछि आधार शिविर पुग्न सकिन्छ। छोटो अवधिमा पुग्न मिल्ने भएकाले यो पदमार्ग पर्यटकको रोजाइमा परेको छ।

अन्नपूर्ण आधार शिविरका आकर्षणमध्ये निलो रङको पञ्चकुण्ड ताल, शान्त वातावरण, जङ्गल, पक्षी र हिमालको फेदमा रहेका झरनाहरू प्रमुख मानिन्छन्। गोरखाबाट आएका सन्दिप भट्टका अनुसार शहरको कोलाहलबाट टाढा भई प्रकृतिसँग रमाउन इच्छुकका लागि यो पदमार्ग आदर्श छ।

यो मार्ग ७५ वर्षअघि फ्रान्सेली आरोही मौरिस हर्गोजले अन्नपूर्ण आरोहणका क्रममा प्रयोग गरेकाे थियो। विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पुनः पहिचान भई विसं २०७७ मा अन्नपूर्ण गाउँपालिकाले यसलाई “मौरिस हर्गोज पदमार्ग” नामाकरण गरी खुलाएको हो।

गाउँपालिकाले पदमार्गमा आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी, मर्मत, साथै आधार शिविर (४,१०० मि) मा खुला सङ्ग्रहालय निर्माण गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण गरिएको छ।

युवाहरूले आवश्यक प्रक्रिया पूरा गरी फुटफुते झरना, साधीखर्क, गुफाफाँट, भुसकेट र पञ्चकुण्ड क्षेत्रमा क्यापिङ सेवा सञ्चालन गरेका छन्। ती क्यापिङ क्षेत्रमा दैनिक ५० जनासम्म पर्यटक बस्न सक्ने क्षमता छ। यसबाट स्थानीयलाई रोजगारी, आयआर्जन र बन्दोबस्तीका सामान बोक्नु नपर्ने सुविधा समेत भएको छ।

Facebook Comments Box