पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत, ४ साउन – मोदी गाउँपालिका–३ देउराली स्थित लाङ्दीमा आज बिहान गएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षका छविलाल विश्वकर्मा र उनकी पत्नी ७६ वर्षीया विष्णुमती विश्वकर्मा बेपत्ता भएका छन्। उक्त घटनामा दम्पतीकी बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएकी छन्। मोदी–३ का वडा सदस्य सन्तोष विकले स्थानीयले उद्धारकार्य जारी राखेको जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ र थप विवरण प्राप्त भएपछि जानकारी गराइनेछ। गएको रातिदेखि पर्वत र आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ भने क्षेत्रका खोला तथा नदीहरूमा बहाव उच्च रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Facebook Comments Box