कञ्चनपुरमा जंगली हात्तीको आतङ्कः घर भत्कियो, अन्न नष्ट

कञ्चनपुर, ४ साउन – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा जंगली हात्तीको बथानले घर भत्काई अन्नपात नष्ट गरेको छ। साउन २ गते मध्यराततिर भएको घटनामा मन्सरादेवी साउदको घरमा हात्ती पसेर क्षति पुर्‍याएको हो।

राति करिब १ बजे भित्तो हल्लिएपछि झस्केर बाहिर निस्किएकी मन्सराले आँगनमा हात्ती देखेपछि तत्काल छोरासहित भागेर ज्यान जोगाएको बताइन्। “पर्खालमै हात्तीले ठक्कर हानेको रहेछ। भित्रै सुतिरहेका थियौँ, ज्यान बाँच्नु चमत्कार हो,” उनले भनिन्।

हात्तीको बथानले घरको पर्खाल भत्काएर भित्र राखिएको अन्न खाएको र बाँकी खुट्टाले कुल्चिएर नष्ट बनाएको साउदले बताइन्। “त्यो रात कहिल्यै नबिर्सने भयो,” उनले भनिन्। छिमेकी देवकी भट्टका अनुसार हात्तीले साउदको घरमात्रै क्षति पु‍र्‍याएको थियो। “अचम्म त के भने, वरिपरिका कुनै घर नछुने तर मन्सराको घर र खेतमा मात्र दोहोरिँदो क्षति पुर्‍याइरहेको छ,” उनले भनिन्।

स्थानीयवासीहरू राति घरभित्र सुत्नसमेत डराउन थालेका छन्। “सडकबत्ती छैन, सावधानी उपाय छैन,” गौरी साउदले भनिन्, “अँध्यारोमा हात्ती पसेको थाहा हुँदैन, भत्काउन थालेपछि मात्र थाहा हुन्छ।” एउटा घरको मात्र नभई बस्तीको पानी आपूर्ति प्रणालीसमेत हात्तीको कारण प्रभावित बनेको छ। ऐश्वर्या सामुदायिक वनका अध्यक्ष ईश्वर बुढाका अनुसार हात्तीले खानेपानी पाइप तानेर तोडेपछि ४० परिवार पिउने पानीबाट वञ्चित भएका छन्।

“मानवीय संकट निम्तिएको छ,” उनले बताए। हात्तीको आतङ्क रोक्नका लागि स्थानीयले चेतावनी प्रणाली, मेसवायर, पर्खाल निर्माणजस्ता दीर्घकालीन उपाय अवलम्बन गर्न माग गरेका छन्। हाल उनीहरूलाई रातभर आगो बालेर हात्ती भगाउनुपर्ने बाध्यता छ।

Facebook Comments Box