निसीखोलामा अझै जीवित छ ‘थाम राम’ संस्कृति

बागलुङ, ४ साउन – बागलुङको निसीखोला गाउँपालिका–६ मा प्राचीन सांस्कृतिक पर्व ‘थाम राम’ अझै पनि जीवित छ। साउने सङ्क्रान्तिसँग सम्बन्धित यो पर्वलाई स्थानीयले विशेष उत्साहसाथ मनाउँदै आएका छन्। ‘थाम राम’ स्थानीय मगर समुदायको मौलिक संस्कृति हो, जसको इतिहास सयौँ वर्ष पुरानो मानिन्छ। ‘थाम’ भन्नाले युवायुवतीले हात समाएर दौडिने, गीत गाउने र रमाइलो गर्ने संस्कार जनाउँछ भने ‘राम’ को अर्थ मेला वा सामूहिक जमघटको रुपमा लिइन्छ।

फूल टिपेर सुरु हुने संस्कृति

साउन १ गते युवायुवतीहरू लेकमा फूल टिप्न जान्छन्, त्यहाँ ध्वजा बाँध्ने, पूजा गर्ने, र पितृलाई फूल चढाउने चलन छ। साँझ फर्किएर गाउँमा साङ्गीतिक माहोल बनाइन्छ। भोलिपल्ट थामडाँडामा जम्मा भई फूल लगाइदिने, नाचगान गर्ने र ‘थाम खेल्ने’ परम्परा निरन्तर चल्दै आएको छ।

“थाम राम हाम्रो ऐतिहासिक र मौलिक संस्कृति हो। यसमा मगर समुदायको पहिचान र धार्मिक आस्था जोडिएको छ,”
— अध्यक्ष सूर्यबहादुर घर्तीमगर

उनका अनुसार पहिले थाम खेल्ने जोडीबीच प्रेम सम्बन्ध सुरु भई विवाहमा परिणत हुने चलन समेत थियो, यद्यपि हाल त्यो प्रचलन केही कमजोर भएको छ।

द्वन्द्वकालमा रोकिएको पर्व पुनः सुरु

सशस्त्र द्वन्द्वको समयमा यो संस्कृति विसं २०५७ बाट रोकिएको थियो। तर, स्थानीयले गत वर्षदेखि यसलाई पुनः सुरु गरेका छन्। ६८ वर्षीय नैनसिंह बुढामगरका अनुसार यो परम्परा बाइसेचौबीसे राजाको पालादेखि चल्दै आएको हुनसक्ने जनविश्वास छ।

“पहिले पहिले फोनको सुविधा थिएन, प्रेम व्यक्त गर्न मेला कुर्नुपर्थ्यो। थाम राम त युवायुवतीको भेटघाटको एउटा सांस्कृतिक माध्यम थियो,”
— नैनसिंह बुढामगर

संस्कृति संरक्षणमा युवाको अग्रसरता

स्थानीय रिग युवा क्लब थाम राम संस्कृतिको संरक्षणमा सक्रिय छ। क्लबले नयाँ पुस्तालाई बूढापाकासँगै राखेर संस्कृति सिकाउने प्रयास गर्दै आएको छ।

“यदि युवाले चासो नदिए संस्कृति लोप हुन्छ। त्यसैले हामी पुस्तान्तरणमा जोड दिइरहेका छौँ,”
— क्लब अध्यक्ष भुवनसिंह घर्तीमगर

थाम राम पर्वले सांस्कृतिक पहिचान मात्र होइन, सामाजिक एकता, पितृ श्रद्धा, धार्मिक विश्वास र प्रेमको अभिव्यक्ति पनि बोकेको स्थानीयको विश्वास छ।

Facebook Comments Box