एक वर्षमा आठ लाख ३९ हजारले श्रम स्वीकृति लिए

काठमाडौँ, २ साउन – गएको आर्थिक वर्षमा कुल आठ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार तीमध्ये सात लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिला रहेका छन्।

विभागले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो विवरण सार्वजनिक गरिएको हो। अघिल्लो वर्षको तुलनामा यो वर्ष एक लाख बढी श्रम स्वीकृति जारी भएको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार श्रम स्वीकृति लिनेहरूमध्ये ६०.२८ प्रतिशत नयाँ र ३९.७२ प्रतिशत पुनः श्रम स्वीकृति हुन्। प्रमुख १० गन्तव्य मुलुकहरूमा संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन परेका छन्।

व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्यहरूमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा रहेका छन्।

पछिल्लो पाँच वर्षमा ३५ लाखभन्दा बढी श्रमिकले श्रम स्वीकृति लिएका छन्। तीमध्ये ३१ लाख ८१ हजार जना पुरुष रहेको विभागको तथ्याङ्कमा उल्लेख छ।

विदेशमा श्रमिक पठाउने संस्था कुल एक हजार ६८७ रहेकामा हाल सक्रिय इजाजतप्राप्त संस्था ७२४ मात्रै छन्। विसं २०८२ असारसम्ममा २१२ संस्थाले मात्र इजाजत नवीकरण गराएका छन्।

वैदेशिक रोजगारीमा अहिलेसम्म सात करोड २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति प्रदान गरिएको विभागले जनाएको छ।

महानिर्देशक भट्टराईका अनुसार श्रम स्वीकृति प्रक्रियालाई डिजिटल प्रणालीमार्फत छिटो, पारदर्शी र प्रभावकारी बनाउने प्रयासस्वरूप आवेदन दिएको दिनमै स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। हाल डेढ महिनादेखि आवेदन दिएको दुई मिनेटमै श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा आएको पनि उहाँले बताउनुभयो।

अनुसन्धान तथा मुद्दा शाखामा रहेका करिब ३६ हजार फाइलमध्ये दुई तिहाइ फाइलको व्यवस्थापन सकिएको जानकारी पनि उहाँले दिनुभयो।

विभागले पहिचान गरेका सुधारका विषयहरू कार्यान्वयन गर्न कानुनी संशोधन आवश्यक भएको उल्लेख गर्दै सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नतिको लागि प्राविधिक अध्ययन भइरहेको बताइएको छ।

स्वास्थ्य परीक्षणको अनुगमन प्रणाली सुधार गरी डिजिटल प्रणालीमार्फत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समेट्ने कार्य सम्पन्न भइसकेको जानकारी पनि दिइएको छ। विभागले सेवा प्रवाहमा गुणात्मक तथा रचनात्मक सुधार गर्न निरन्तर प्रयत्न गरिरहेको जनाएको छ।

Facebook Comments Box