मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
मुस्ताङ, २ साउन – थासाङ गाउँपालिका अन्तर्गत थाक सात सय क्षेत्रको सामूहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत पिउने परम्परागत मेला सुरु भएको छ। मार्चे याक नाक कृषक समूहले बिहीबारदेखि यो मेला आयोजना गरेको हो।
हिमाली तथा उच्च पहाडी जिल्लामा जिउँदो याक र चौँरीको रगत पिउने परम्परा सदियौँदेखि चलिआएको छ। प्राकृतिक उपचार विधिमध्ये एक मानिने यस रीतिअनुसार चौँरीको आलो रगत पिउँदा पेटसम्बन्धी विविध रोग निको हुने जनविश्वास छ।
करिब ४,००० मिटरको उचाइमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण मार्चे लेक क्षेत्रलाई निलगिरी हिमालको फेदीमा अवस्थित रमणीय स्थलका रूपमा चिनिन्छ। यहाँ १० वटा गोठमा करिब ८०० भन्दा बढी याक र चौँरी रहेका छन्। थाक सात सय क्षेत्रभित्र सौरु, सिर्खुम, लार्जुङ, नाउरिकोट, ताक्लुङलगायत गाउँका कृषकहरूको गोठ छन्।
मार्चे याक नाक कृषक समूहका सदस्य सोजन हिराचनका अनुसार हिउँदमा बेंसी सारिने याक तथा चौँरीहरूलाई गर्मीयाममा मार्चे लेकमा ल्याइन्छ। त्यहाँको हरियाली र जडिबुटीयुक्त चरन क्षेत्रले चौँरीको रगतलाई स्वास्थ्यवर्धक बनाउने जनविश्वास छ।
बर्खायाममा याक तथा चौँरीले यार्सागुम्बा, पाँच औँले, निरमसी, जटामसी, सतुवा, चिची, भोलु चिया, कुरिलो, तोरा चिची, जिम्बु, बन लसुनजस्ता जडीबुटी खाएका कारण तिनीहरूको रगतले ग्याष्ट्रिक, दम, गानोगोला, उच्च रक्तचाप, मधुमेह र यौन शक्ति ह्रास जस्ता समस्या समाधान गर्ने विश्वास गरिएको छ।
मेलामा रगत पिउन देशका विभिन्न भागबाट उल्लेख्य सङ्ख्यामा सर्वसाधारण सहभागी हुने गरेका छन्। मेलाको सुरुवातअघि बुधबार सामूहिक गोठपूजा गरिएको समूहका अध्यक्ष बुद्ध गौचनले जानकारी दिनुभयो।
यो वर्ष एक गिलास चौँरीको रगतको मूल्य २५० रुपैयाँ तोकिएको छ। मेलाको सबै व्यवस्थापन सम्पन्न गरिएको र गोठहरूमा अस्थायी टहरा बनाएर स्थानीय होटल सेवा समेत सञ्चालन गरिएको अध्यक्ष गौचनले बताउनुभयो। करिब तीन सयभन्दा बढी मानिस मेलामा सहभागी हुने अनुमान गरिएको छ।
मार्चे लेक पुग्न बेनी–जोमसोम मुख्य राजमार्गबाट कालीगण्डकीको पूर्वतर्फ तीनदेखि पाँच घण्टाको पैदल उकालो यात्रा गर्नुपर्छ। त्यहाँ सौरु र चिमाङ हुँदै पुग्ने दुईवटा गोरेटो बाटो पनि छन्। मेलाको अवधि १० दिन तोकिएको छ।

