जोखिमयुक्त बस्तीका बासिन्दा सुरक्षित विद्यालयमा स्थानान्तरण
काठमाडौं, १८ असोज – काठमाडौं महानगरपालिकाले खोलाछेउका जोखिमयुक्त बस्तीका बासिन्दालाई नजिकैका विद्यालयमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ ।
महानगरपालिकाले विपद् व्यवस्थापन विभागमार्फत थली, बनेश्वर, कोटेश्वर र दोभानलगायतका क्षेत्रमा रहेका जोखिमयुक्त बस्तीका परिवारलाई विद्यालयहरू आश्रयस्थलका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाएको हो ।
विपद् व्यवस्थापन विभागका अनुसार बागमती, विष्णुमतीलगायतका खोलामा पानीको सतह निरन्तर निगरानीमा राखिएको छ । सम्भावित जोखिमको अवस्थामा स्थानीय वडा सदस्यहरूमार्फत विद्यालयमा स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरिएको हो ।
विद्यालयहरूलाई आवश्यक आधारभूत सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ । शौचालय, खानेपानी र सुरक्षित बस्ने व्यवस्था मिलाएर उद्धार कार्यमा सहयोग गर्ने तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।
गत वर्षसमेत जोखिममा रहेका क्षेत्रहरूमा प्राविधिक टोली खटाइएको र निरन्तर निगरानी भइरहेको महानगरले स्पष्ट पारेको छ । हालसम्म ठूलो बाढी नआए पनि सम्भावित जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाइएको र सम्पूर्ण उद्धार तथा व्यवस्थापन कार्य महानगरको समन्वयमा सञ्चालन हुने जनाइएको छ ।

