म्याग्दीमा चारवटा नयाँ सडक स्तरोन्नति योजना थप
म्याग्दी, २७ असार – आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेश सरकारले म्याग्दीका विभिन्न स्थानमा चारवटा सडक स्तरोन्नति योजना थप गरेको छ। संघीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको पूर्ण लगानीमा तीनवटा आयोजना कार्यान्वयनमा जाने भएका छन्।
यी योजनाहरूको निर्माणका लागि करिब रु ६० करोडको ठेक्का सम्झौता विभिन्न निर्माण कम्पनीसँग गरिएको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार सबै आयोजना बर्खा सकिएलगत्तै निर्माण चरणमा प्रवेश गर्ने छन्।
१. दरवाङ–मुना–ढोरपाटन सडक
गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा दरवाङदेखि धवलागिरिको मुना हुँदै ढोरपाटन जोड्ने सडक स्तरोन्नति गर्न रु ५२ करोड ८० लाख ५३ हजारको ठेक्का सक्षम÷सिम्रन जेभीलाई दिइएको छ। सत्ताइस महिनाको अवधि रहेको यस आयोजनामार्फत दरवाङ–धारापानी (७ किमी) र झिनडाँडा–मुना (४ किमी) खण्डमा अक्सफाल्ट प्रविधिबाट कालोपत्र तथा ढलान गरिनेछ।
यस सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक खण्डका रूपमा प्राथमिकता दिइएको छ। यसले मङ्गला, मालिका, धवलागिरि गाउँपालिका, बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दाको पोखरा–काठमाडौं आवतजावतमा ७० किलोमिटर दूरी छोट्याउने प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले जानकारी दिनुभयो।
२. भगवती–बेग सडक
रघुगङ्गा गाउँपालिका क्षेत्रको भगवती हुँदै बेग जोड्ने सडक स्तरोन्नतिका लागि रु २ करोड ८२ लाखमा हिमालयन कन्ट्रक्सनसँग २०८२ असार ९ गते सम्झौता भएको छ। यसअन्तर्गत एक किलोमिटर चार सय मिटर सडक ढलान तथा कालोपत्र गरिनेछ। यो योजना म्याग्दी क्षेत्र नं १ (१) का प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको पहलमा अघि बढाइएको हो।
३. रुम–ताराखोला सडक
मालिका गाउँपालिका–२ को रुमदेखि ताराखोला जोड्ने सडक स्तरोन्नतिका लागि सोमरस निर्माण सेवासँग रु २ करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता भएको छ। असार ४ गते सम्झौता भएको यस योजनामार्फत ७ सय मिटर सडक ढलान गरिनेछ।
४. गलेश्वर–पुलाश्रम सडक
बेनी नगरपालिका–९ गलेश्वरदेखि पुलाश्रम (जगन्नाथ मन्दिर) जोड्ने मोटरबाटो स्तरोन्नतिका लागि रु २ करोड २३ लाख ४६ हजारको लागतमा बिबिपीएल–बिएसडिएस धवलागिरि कम्पनी चयन गरिएको छ। दुई किलोमिटर सडकमा ढलान र ग्राभेल गरिनेछ।
५. सावाटा–थापाचौर झोलुङ्गे पुल
मालिका गाउँपालिका–५ थापाचौर र वडा नं ६ सावटा जोड्ने म्याग्दी नदीमाथि ९६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि सोमरस निर्माण सेवासँग रु ३९ लाखको ठेक्का सम्झौता गरिएको छ। असार ३ गते सम्झौता भई निर्माण प्रारम्भको तयारीमा रहेको छ।
यसअघि आव २०८०/८१ मा गण्डकी प्रदेशमार्फत म्याग्दीमा सातवटा सडक र दुईवटा मोटरेबल पुल निर्माणका लागि रु ६७ करोड ७८ लाखको ठेक्का सम्झौता भएको थियो। अघिल्लो वर्षका एक सडक र एक मोटरेबल पुल हाल निर्माणाधीन अवस्थामा छन्।

