धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल बढ्दो
धरान (सुनसरी), २७ असार – गर्मीयामसँगै धरान उपमहानगरपालिका–२० स्थित चिन्डेडाँडा (रमितेडाँडा) मा आन्तरिक पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। पूर्वी नेपालकै लोकप्रिय हाइकिङ गन्तव्य बन्दै गएको यो रमणीय डाँडामा दैनिक सयौं पर्यटक घुम्न पुग्ने गरेका छन्।
धरान, इटहरी, झापा, चितवन, काठमाडौंजस्ता शहरहरूबाट साथीभाइ वा परिवारसहित आउने पर्यटक यहाँको मनोरम दृश्यावलोकन र हाइकिङको अनुभव लिन आउँछन्। पूर्वी पहाड र तराईको संगमस्थलझैं देखिने चिन्डेडाँडाबाट धरान बजार, इटहरी, चारकोसे झाडी लगायत स्थानको दृश्य अवलोकन गर्न सकिन्छ।
विदेशबाट बिदामा आएका धरान–१६ का सुदीप श्रेष्ठ चिन्डेडाँडा पुगेपछि निकै परिवर्तन देखिएको अनुभव सुनाउनुहुन्छ। “पहिले नाङ्गो देखिने यो डाँडा अहिले निकै विकसित देखिन्छ,” उहाँ भन्नुहुन्छ, “दृश्य हेर्दै घुम्न रमाइलो लाग्छ, गर्मीयाममा यहाँको चहलपहल लोभलाग्दो हुन्छ।”
इटहरीकी सुशीला राईका लागि यो पहिलो भ्रमण थियो। उहाँ भन्छिन, “गर्मीका बेला यहाँको वातावरण र दृश्यले मन लोभ्याउँछ, जाडोमा मान्छे कम भए पनि गर्मीमा निकै भिडभाड हुने रहेछ।” धरानबाट चिन्डेडाँडा करिब १५–२० मिनेटमा मोटरसाइकल वा गाडीमा पुग्न सकिन्छ, भने पैदल यात्रा गर्दा करिब एक घण्टा लाग्छ। पहिला सुनसान देखिने यो ठाउँमा पर्यटन चहलपहल बढ्न थालेको झन्डै दुई दशक भइसकेको छ।
पहिले यहाँ प्याराग्लाइडिङ सेवा पनि सञ्चालनमा थियो, जसले थप पर्यटक आकर्षण गर्ने गर्थ्यो। हाल प्याराग्लाइडिङ बन्द भए पनि यहाँ दर्जनौँ होटल तथा खाजाघर सञ्चालनमा छन्। स्थानीय व्यवसायी लक्ष्मी तामाङका अनुसार गर्मीको मौसममा दैनिक तीन सयजति पर्यटक चिन्डेडाँडामा पुग्ने गरेका छन्। पर्यटकले लोकल कुखुराको मासु, तोङ्बा, सुकुटी, भट्टु धानको भातजस्ता मौलिक परिकार रुचाउने गरेको उहाँ बताउनुहुन्छ।
व्यवसायी वसन्ती तामाङ भन्छिन्, “दिनभरिको छोटो घुमफिरका लागि चिन्डेडाँडा उपयुक्त गन्तव्य बनेको छ। अधिकांश पर्यटक केही घण्टा बसेर फर्किन्छन्, तर बास बस्नेहरू पनि हुन्छन्।” हाल चिन्डेडाँडासम्म पुग्ने सडक कच्ची भएकाले वर्षायाम वा जाडो मौसममा आवतजावत केही कठिन हुने व्यवसायीहरूको गुनासो छ। यद्यपि, सर्दुखोलामा नयाँ पुल बनेपछि यात्रा केही सहज भएको उनीहरू बताउँछन्।
स्थानीयका अनुसार पहिले यो डाँडा नाङ्गो देखिने भएकाले “चिन्डेडाँडा” नाम रहन गएको हो, भने बाटो हिँड्नेहरू यहाँ अडिएर रमिता हेर्ने भएकाले “रमितेडाँडा” पनि भनिन्छ। यस क्षेत्रमा तामाङ, गुरुङ, राई, क्षेत्री र ब्राह्मण समुदायको बसोबास रहेको छ। यस क्षेत्रमा भ्यूटावर निर्माण भइसकेको छ भने चिन्डेडाँडामुनि पर्यटन व्यवसायी वासुदेव बराल र एलिना मगरले सेछ एड्भेन्चर पार्क र रिसोर्ट सञ्चालनमा ल्याएका छन्।
साथै, नजिकैको तामाङ बस्तीमा होमस्टे सेवा पनि उपलब्ध छ। धरानका नगरप्रमुख हर्कराज साम्पाङको नेतृत्वमा चिन्डेडाँडामा किरात राई समुदायका देउता सुम्निमा–पारुहाङको प्रतिमा निर्माणको तयारी भइरहेको छ। प्रमुख साम्पाङका अनुसार, प्रतिमा स्थापना भएपछि चिन्डेडाँडाको धार्मिक तथा पर्यटकीय महत्व झनै बढ्नेछ। स्थानीयवासी तथा व्यवसायीको अपेक्षा छ— यदि सडक सुधार, प्रचारप्रसार तथा पूर्वाधार विकासमा प्राथमिकता दिइयो भने चिन्डेडाँडा निकट भविष्यमा धरानको प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ।

