खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकीमा पूर्वाधार निर्माण

खोटाङ, २७ असार – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुइपास्थित प्रहरी चौकीमा स्थानीयवासी तथा दाताको चन्दा सङ्कलनबाट सिसी क्यामेरा जडान र अन्य पूर्वाधार निर्माण गरिएको छ। स्थानीयवासी र विभिन्न क्षेत्रका दाताबाट स्वेच्छिक रूपमा संकलित रु १२ लाख ४४ हजार ४६६ रकमबाट प्रहरी चौकी व्यवस्थापन समितिमार्फत सिसी क्यामेरा, प्रतिक्षालय, गोलघर, सडक सूचना बोर्डलगायत संरचना निर्माण गरिएको हो।

प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईका अनुसार, चन्दा संकलन अभियानअन्तर्गत रु १० लाख सात हजार ४९७ खर्च भइसकेको छ। आगामी आर्थिक वर्षमा वडा नं १४ र १५ बाट थप रु दुई लाख ११ हजार १११ प्राप्त हुने अपेक्षा गरिएको छ भने समितिको खातामा हाल नगद रु २५ हजार ८५८ मौज्दात छ।

यस अभियानअन्तर्गत चौकीमा १४ वटा सिसी क्यामेरा जडान, एक–एकवटा प्रतिक्षालय र गोलघर निर्माण, पाँचवटा सडक सूचना बोर्ड स्थापनाका साथै कार्यालय व्यवस्थापनका सामग्री खरिद गरिएको हो। नगरपालिकाबाट प्राप्त सोफा सेट, चन्दा रकमबाट खरिद गरिएका कार्पेट तथा पर्दा र स्थानीयको श्रमदानमार्फत भवन मर्मत गरिएको छ।

गत २०८२ वैशाख २४ गते नगर प्रमुख तीर्थराज भट्टराईले सिसी क्यामेरा तथा अन्य संरचनाको औपचारिक उद्घाटन गर्नुभएको थियो। यसैबीच, प्रहरी चौकीले सार्वजनिक सुनुवाइ कार्यक्रम गरी संकलित रकम र खर्च विवरण सार्वजनिक गरेको छ।

बुइपाका वडाध्यक्ष दिनेश राई, विजयखर्कका वडाध्यक्ष रामबहादुर कटवाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा सामुदाय–प्रहरी साझेदारीले सुरक्षित समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने भनाइ राखिएको थियो।

समितिका अध्यक्ष राईका अनुसार सार्वजनिक सुनुवाइले पारदर्शिता कायम गर्नुका साथै समुदाय र सुरक्षामन्त्री निकायबीच सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको छ। यसअघि गोरखा–रुजन जेभी काठमाडौंले २०७६ असार १७ गते सम्झौता गरी प्रहरी चौकीको दुईतले भवन तोकिएकै समयमा निर्माण सम्पन्न गरेको थियो। सहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको लगानीमा निर्माण भएको भवन २०७८ कात्तिक १७ गते उद्घाटन गरिएको थियो।चौकीमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासत, प्रहरी प्रमुख र जवानका लागि अलग-अलग कोठा तथा शौचालयको व्यवस्था गरिएको छ।

Facebook Comments Box