वीरगञ्जमा खानेपानी सङ्कट चर्किँदै, दीर्घकालीन समाधानमा जोड

पर्सा, २५ असार – वीरगञ्ज महानगरमा लामो समयदेखि समाधान हुन नसकेको खानेपानीको समस्या फेरि चर्किँदै गएको छ। अहिले ट्याङ्कर र दमकलमार्फत पानी आपूर्ति गरिए पनि स्थानीय बासिन्दाहरूले तत्कालीन होइन, दीर्घकालीन समाधान आवश्यक भएको बताएका छन्।

महानगरपालिकाले पानी आपूर्तिका लागि केही ट्याङ्कर सञ्चालन गरिरहेको छ भने पर्साको सखुवाप्रसौनी गाउँपालिकाले दमकल प्रयोग गरेर पानी पुर्‍याउने प्रयास गरिरहेको छ। तर स्थानीयवासीको भनाइ छ— “केही दिनको पानीले होइन, यो समस्या स्थायी रूपमा समाधान हुनुपर्छ।”

२०७९ सालको स्थानीय चुनावताका वीरगञ्ज नगरप्रमुख राजेशमान सिंहले खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका थिए। त्यतिबेला खानेपानी मन्त्रीसमेत रहेका प्रदीप यादवले पनि समस्या दीर्घकालीन रूपमा समाधान गरिने घोषणा गरेका थिए। तर तीन वर्ष बितिसक्दा पनि समस्या जस्ताको तस्तै रहनुमा नागरिकहरू निराश छन्।

महानगर–१३ श्रीपुरका स्थानीय कैफुल मियाँले चापाकलमा एक थोपा पानी नआएको गुनासो गर्दै भने, “यस्तै अवस्था रह्यो भने हामीलाई उठिबास हुन्छ।” नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख प्रवीणकुमार साहले पनि यही धारणा राख्दै भने, “चापाकल वा बोरिङबाट मात्रै यो समस्या समाधान हुँदैन। ओभरहेड ट्याङ्की, पाइपलाइन विस्तार, र एकीकृत खानेपानी आपूर्ति प्रणाली आवश्यक छ।”

नगरप्रमुख सिंहले मङ्गलबार साँझ विद्यापति नगर, श्रीपुर, रानीघाट लगायत प्रभावित क्षेत्रका बासिन्दालाई ट्याङ्करमार्फत पानी वितरण गर्नुभएको थियो। उहाँले भने, “नगरवासीलाई पानीको अभावमा राखिन्न। ३२ वटै वडामा समान रूपमा पानी पुगोस् भनेर समन्वित योजना बनाएका छौँ।” स्थानीय तह र संघीय सरकारबीच समन्वय गरी पूर्वाधार निर्माण, पाइपलाइन विस्तार र दीर्घकालीन आपूर्ति प्रणालीमा लगानी बढाइए मात्रै वीरगञ्जको खानेपानी संकट समाधान सम्भव देखिन्छ।

Facebook Comments Box