गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौँ, २५ असार – देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेकोले अधिकांश भूभागमा मौसम बदली देखिएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनीलगायत पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात पनि हुन सक्छ।
रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र चट्याङ पर्ने सम्भावना छ। यीमध्ये कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना कायमै छ।
महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र गेग्य्रान बहावको जोखिम बढ्ने चेतावनी दिएको छ। सहरी तथा तराई क्षेत्रका केही स्थानमा डुबानको जोखिम रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। साथै नदी, खोलानाला, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरिएको छ।

