आज सङ्घीय संसद्का दुवै सदनका बैठकहरू बस्दै
काठमाडौँ, ९ असार – सङ्घीय संसद्का दुवै सदनका बैठक आज (सोमबार) बस्ने भएका छन्। प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे संसद् भवन नयाँ बानेश्वरमा सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक अपराह्न १:१५ बजेका लागि निर्धारित गरिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ।
विनियोजन विधेयक अन्तर्गत वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला, तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका शीर्षकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ।
यस्तै युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची पनि रहेको छ।
अर्कातर्फ, राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/८१ को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ। सोही बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

