पाहुना बोलाउन लाज मान्ने भुस्कुलिया टोलमा पक्की सडकले ल्यायो परिवर्तन

सिरहा, २४ असार – सिरहा नगरपालिका–६ अन्तर्गतको भुस्कुलिया टोलका बासिन्दाको वर्षौँदेखिको सपना अहिले पक्की सडकसहितको वास्तविकतामा रूपान्तरण भएको छ। दशकौँदेखि हिलो र धुलोको पीडामा बाँचेका करिब डेढ सय घरपरिवारको टोलमा आरसिसी ढलानसहितको पक्की सडक निर्माण भएपछि बस्तीको स्वरूप नै फेरिएको हो।

धेरैजसो घर बाँस, माटो र जस्ताको छानाले बनेका भए पनि अब टोलमा टाढैबाट चम्किने सडक देखिन थालेको छ। यो पाँच सय मिटर लामो सडक मधेस प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।

वडाध्यक्ष इन्द्रजित यादवले समन्वय गरेको यस आयोजनाले स्थानीयमा उत्साह र आत्मसम्मानको अनुभूति ल्याएको छ। उहाँले भन्नुभयो, “हामीले चुनावअघि गरेको वाचा पूरा भएको छ। अब यो बस्ती हिलोमुक्त छ।” स्थानीय सोनु यादव भन्छन्, “पहिला पाहुना बोलाउन लाज लाग्थ्यो। टोलमा हिँड्न पनि सकिँदैनथ्यो। अहिले बच्चाहरू स्कुल जाँदा लुगा फोहर हुँदैन, वृद्धहरू सहजै हिँड्न सक्ने भएका छन्।”

वडाध्यक्ष यादवका अनुसार भुस्कुलिया टोल निम्नआय भएका परिवारहरूको बस्ती हो, जहाँ १५० घरमध्ये पाँचवटा मात्र पक्की संरचनामा छन्। वर्षायाममा पानी परेपछि टोल हिलोमा डुब्ने र स्वास्थ्यमा असर पर्ने गरेको थियो। पूर्वाधार विकास कार्यालय सिरहाका प्राविधिक राजु यादवका अनुसार ग्रामीण सडकमा आरसिसी ढलान प्रविधि दीगो र टिकाउ हुने देखिएको छ।

“यहाँ सवारी चाप कम भए पनि गाईवस्तुको मलमूत्र, हिलो र अव्यवस्थित नालीको कारण कालोपत्रे सडक चाँडै बिग्रन्छ,” उहाँले भन्नुभयो, “आरसिसी सडकले यस्तो समस्यामा दीर्घकालीन समाधान दिन्छ।” सडक बनेसँगै भुस्कुलियाका बासिन्दामा अब पक्की घर बनाउने आशा पलाएको छ। ७२ वर्षीय लक्ष्मी साह भन्छन्, “पहिला पानी परेपछि घरभित्रै बाल्टिन राखेर हिलो बटुल्नुपर्थ्यो। अब बाहिर हिँड्न त सजिलो भएको छ, घर बलियो बनाउने सपना बोकेका छौँ।”

वडाध्यक्ष यादवले बस्तीको आवास सुधार, शिक्षा, स्वास्थ्य र सीप विकासमा समेत योजना बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार सामुदायिक भवन, पिउने पानीको पहुँच, साना व्यवसाय विकासजस्ता कार्यक्रम क्रमशः अगाडि बढाइँदै छन्। भुस्कुलियाको पक्की सडक केवल पूर्वाधार निर्माणको प्रतिनिधि होइन, यो आशाको संकेत र परिवर्तनको थालनी पनि हो। आज सडक पक्की छ, भोलि घर पनि पक्की हुने विश्वासमा अब बस्ती बाँच्न थालेको छ।

Facebook Comments Box