कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना
काठमाडौँ, २४ असार – देशभर मनसुनी वायुको प्रभाव जारी रहेकाले आज पनि धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी क्षेत्रका अधिकांश स्थानमा तथा अन्य भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, देशका उच्चपहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कतिपय स्थानमा भारी वर्षा हुने सम्भावना पनि कायम रहेको महाशाखाको भनाइ छ। महाशाखाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन र सम्भावित बाढी, पहिरोको जोखिमलाई ध्यानमा राख्न सबैलाई आग्रह गरेको छ।

