सङ्घीय संसद्का दुवै सदनको बैठक आज, आर्थिक सर्वेक्षण पेस गरिने
काठमाडौं, १३ जेठ – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यस्तै, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री डा स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । त्यसैगरी, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री वाग्लेले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

