गैरकानुनी डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ

काठमाडौँ, १९ असार – गैरकानुनी रूपमा डेटिङ एप र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा छ जना चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–४, दमकल चोकस्थित एक घरमा ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गरी कल सेन्टर तथा मेटो नामक डेटिङ एप सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उक्त कम्पनीको अर्को शाखा काठमाडौँ महानगरपालिका–१३, चागलमा पनि सञ्चालनमा थियो। त्यहाँ विभिन्न नेपाली युवतीलाई प्रलोभनमा पारी अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गराउँदै आएको पाइएपछि प्रहरीले थप अनुसन्धान गर्दै ५२ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूको साथबाट स्रोत नखुलेको नगद रु १३ लाख ९९ हजार ९५०, सात थान ल्यापटप र ५४ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका छ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरिएको छ भने अन्य ४६ जनामाथि पनि आवश्यक अनुसन्धान सुरु गरिएको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार सो नेटवर्क सामाजिक सञ्जाल, डेटिङ एप र अनलाइन कारोबारको नाममा आम सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

Facebook Comments Box