जगदम्बालाई सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न बाराका प्रमुख जिल्ला अधिकारीको निर्देशन
पर्सा, १९ असार – बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल्स लिमिटेडमा बुधवार राति भएको आगलागी घटनापछि जिल्ला प्रशासन कार्यालय, बाराले कम्पनीलाई सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।
जिल्ला प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार उद्योग वरपरको मानव बस्ती र त्यहाँ कार्यरत मजदुरहरूको सुरक्षालाई ध्यानमा राख्दै आगलागी घटना दोहोरिन नदिन आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन कम्पनीलाई स्पष्ट निर्देशन दिइएको हो।
“दुर्घटनाको खबर पाउने बित्तिकै स्थलगत अनुगमन गरेका थियौँ,” प्रजिअ अधिकारीले भन्नुभयो, “उद्योगको भौगोलिक अवस्था र आसपासका बस्तीको संवेदनशीलतालाई ध्यानमा राख्दै आगामी दिनमा यस्ता दुर्घटना नहोस् भन्नका लागि सुरक्षाका मापदण्ड कडाइपूर्वक पालना गर्न आवश्यक छ।”
उहाँले यस प्रकारको दुर्घटना एउटा उद्योग मात्र नभई समग्र औद्योगिक क्षेत्रको सुरक्षासँग जोडिएको विषय भएको उल्लेख गर्दै सबै उद्योगलाई नियमको पालना गर्न आग्रह गर्नुभयो।
कम्पनीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबार राति ९:१५ बजे सिसिएम प्लान्टमा कच्चा पदार्थ पगाल्ने क्रममा ३० टन क्षमताको भट्टीमा अचानक आगलागी भई विस्फोट भएको जानकारी दिएको छ।
घटनामा परेर भारत, बिहार राज्य अन्तर्गत समस्तीपुर निवासी तथा उद्योगमा कार्यरत अजय बैठा घाइते भएका छन्। उहाँको हाल वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार घटनामा एक जना घाइते भएका छन् भने अन्य कुनै मानवीय क्षति नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको छ। घटनाको विस्तृत छानबिन भइरहेको जनाएको कम्पनीले विभिन्न सामाजिक सञ्जालमा फैलाइएका अपुष्ट र भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।
घटनासम्बन्धी प्रारम्भिक अनुसन्धान इलाका प्रहरी कार्यालय, सिमराद्वारा भइरहेकाे जनाइएको छ। प्रमुख जिल्ला अधिकारी अधिकारीले अनुसन्धान प्रतिवेदन आएपछि आवश्यक थप कदम चालिने स्पष्ट पार्नुभयो।

