प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रंगशाला अवलोकन

मेड्रिड (स्पेन), १९ असार – स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मेड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको अवलोकन गर्नुभएको छ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गर्दै अत्याधुनिक रंगशालाको भ्रमण गराउनुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको फ्यान रहेको बताउँदै विश्वस्तरीय सुविधा सम्पन्न रंगशाला प्रत्यक्ष अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।

क्लबका तर्फबाट निर्देशक मिगेलले प्रधानमन्त्री ओलीलाई रियल मड्रिडको जर्सी उपहारस्वरूप प्रदान गर्नुभयो। साथै, उहाँले नेपाली विद्यार्थीलाई क्लबको प्रशिक्षण कार्यक्रम तथा भर्नामा सहभागी हुन प्रोत्साहित गर्नुभएको थियो।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनमा सहभागी भई सेभिया शहरबाट मेड्रिड आइपुग्नुभएको हो। मेड्रिडमा रहँदा उहाँ विभिन्न कूटनीतिक र सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइरहनुभएको छ।

Facebook Comments Box