एसईई पूरक परीक्षा साउन २९ देखि, बिहान ८ बजेदेखि सञ्चालन
काठमाडौँ, १४ असार – राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार पूरक परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा हरेक दिन बिहान ८ देखि ११ बजेसम्म हुनेछ।
शुक्रबार प्रकाशित एसईईको नतिजामा ग्रेड प्राप्त गर्न नसकेका वा अनुपस्थित भएका परीक्षार्थीहरूलाई पूरक परीक्षा दिन दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ। यस वर्षको एसईईमा कुल ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए। बोर्डका अनुसार नियमित परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत मात्र ग्रेडेड भएका छन्।
ग्रेडिङ विवरण यसप्रकार छ:
-
३.६ – ४.० GPA: ४८,१७७ जना
-
३.२ – ३.६ GPA: ८१,३५५ जना
-
२.८ – ३.२ GPA: ८९,१२४ जना
-
२.४ – २.८ GPA: ४८,४७९ जना
-
२.० – २.४ GPA: ४,१२६ जना
-
१.६ – २.० GPA: ८ जना
यसका अतिरिक्त एक लाख ६७ हजार ५९७ जना परीक्षार्थी वर्गीकृत भएका छन्। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार १२६ जनाको परीक्षा रद्द गरिएको छ। यस वर्षको एसईई परीक्षा २०७८ चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको थियो।


