सुकेटार विमानस्थलमा हवाई सेवा पुनः ठप्प, यात्रु मर्कामा

ताप्लेजुङ, १४ असार – ताप्लेजुङको एकमात्र हवाई सेवा केन्द्र सुकेटार विमानस्थलमा पुनः हवाई उडान ठप्प भएको छ। चार महिना लामो अवरोधपछि चैतको अन्तिम सातादेखि पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको उडान जेठ ३० यता एकपटक पनि सञ्चालन हुन सकेको छैन।

बर्खायाम सुरु भएसँगै कुहिरो र न्यून दृश्यता (भिजिबिलिटी) का कारण असार महिनामा मात्रै चार उडान रद्द भएका छन्। निगमका ताप्लेजुङ स्टेशन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार, सोमबार र शुक्रबारका नियमित काठमाडौँ–ताप्लेजुङ उडानहरू लगातार रद्द भइरहेका छन्।

“भिजिबिलिटी न्यून भएकाले जहाजले अवतरण गर्न सक्ने अवस्था छैन, यात्रु सुरक्षाका लागि उडान रोकिनु परेको हो,” इञ्चार्ज कार्कीले बताए। शुक्रबारका लागि ताप्लेजुङ–काठमाडौँ र काठमाडौँ–ताप्लेजुङ उडानमा तीन–तीन यात्रु टिकट बुक गरी तयार थिए, तर मौसम नखुल्दा दुबै उडान रद्द गरियो।

नियमित उडान नहुँदा यात्रुहरू वैकल्पिक सडकमार्गमा निर्भर हुन थालेका छन्। लामो दूरीको दुर्गम यात्रा गर्नुपर्दा समय र जोखिम दुबै बढेको यात्रुहरू बताउँछन्। प्रत्येक वर्ष वर्षायाममा यस्तो समस्या दोहोऱिँदै आएकोले, स्थानीयले विश्वसनीय वैकल्पिक यातायात साधनको माग गरेका छन्।

ताप्लेजुङको दुर्गम भौगोलिक अवस्थालाई ध्यानमा राख्दा हवाई सेवा यहाँका बासिन्दाका लागि जीवनरेखा जस्तै रहेको जनाइएको छ। त्यसैले दीर्घकालीन समाधानका लागि सुदृढ रणनीति आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

Facebook Comments Box