गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी

गुल्मी, १३ असार – गुल्मीको मुसिकोट नगरपालिका–४, दिगामचौरमा विषालु च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी परेका छन्। बिरामी पर्नेमा ७६ वर्षीय थम्मनबहादुर कुमाल, ६८ वर्षीया फूलमाया कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिहीबार जंगलबाट टिपेर ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरूमा टाउको दुख्ने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएका थिए।

घटनापछि राति नै प्रहरीको टोली इन्द्रगौडा प्रहरी पोस्टबाट खटिएको थियो। प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार बिरामीलाई तत्कालै उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएको हो। हाल उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box