राजाजी डाँडाबाट सलहेस सर्किटसम्म : लहानको नयाँ पर्यटकीय सपना
सिरहा, १३ असार – सिरहाको लहान नगरपालिका–१६ मा रहेको राजाजी डाँडा अब केवल धार्मिक स्थल मात्र रहेन; यो ऐतिहासिक चेतना, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनाको संगम स्थलका रूपमा उभिएको छ।
स्थानीयवासीको श्रद्धा, किंवदन्ती र नगरपालिकाको पहलले यो डाँडालाई एकीकृत धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदैछ। सयौँ वर्ष पुराना इँटाका संरचना, इनार र देव हाटजस्ता स्थलले यस क्षेत्रको ऐतिहासिक गहिराइलाई पुष्टि गर्छन्।
वडाध्यक्ष गडुलबहादुर जर्घामगरका अनुसार यो डाँडालाई “राजाजी” भनेर चिनिनुको कारण यहीं पौराणिक दरबार रहेको र सलहेसका गुरु समेत यही राजा भएको विश्वास हो। पुराना पर्खाल र पूजापद्धतिले यस डाँडाको पुरातात्विक महत्त्व अझ प्रष्ट पारेका छन्।
हालै मात्रै नगरपालिकाको रु २५ लाख लगानीमा गहवर मन्दिर निर्माण सम्पन्न भएको छ। मोटर बाटो विस्तारपछि डाँडासम्मको आवागमन सहज भएको छ, जसले धार्मिक गतिविधि र पर्यटक आगमनमा वृद्धि गरेको छ। अब थप पूर्वाधार—सिँढी, सूचना संकेत, विश्रामस्थल आदिको योजनासमेत अघि सारिएको छ।
नगरप्रमुख महेशप्रसाद चौधरी भन्छन्, “राजाजी डाँडा अब आस्था, इतिहास र पर्यटनको त्रिवेणी बनेको छ। संरक्षण र प्रवर्द्धन भएमा यो मधेसकै प्रमुख गन्तव्य बन्न सक्छ।”
यस प्रयाससँगै लहान नगरपालिकाले ‘सलहेस सर्किट’ निर्माणको गुरुयोजना अघि सारेको छ। जसमा सलहेस फूलबारी, ब्रह्मनस्थान, मानिक दह, देवीदह, हात्ती दह र पकडियागढ जस्ता स्थलहरूलाई एकीकृत गरेर पर्यटकीय नगरीको विकास गर्ने लक्ष्य लिइएको छ।
सलहेस सर्किटका प्रमुख स्थलहरू
🔸 सलहेस फूलबारी
लहान–१२ र २२ मा पर्ने यो स्थल प्रेमका प्रतीक सलहेस र मालिनीको मिलनस्थल मानिन्छ। वैशाख १ गते फूलबारीमा फुल्ने माला आकारको सुनाखरी फूल र मेला यसको आकर्षण हो। लाखौँ श्रद्धालु उपस्थित हुने यो मेला तराईको मौलिक संस्कृति झल्काउने जीवित सम्पदा हो।
🔸 पकडियागढ
लहान–१८ मा रहेको यो ऐतिहासिक गढ राजा कुलेश्वरको दरबार क्षेत्र मानिन्छ। यहाँ वैशाख २ मा ठूलो मेला लाग्छ, जहाँ भारतबाट समेत दर्शनार्थी आउँछन्। पोखरीको संरक्षण, मन्दिर मर्मत र प्रकाश व्यवस्थाले पर्यटकको चासो बढाएको छ।
🔸 देवीदह
लहान–१७ मा बलान नदी किनारमा अवस्थित देवीदह स्वास्थ्य लाभको धार्मिक विश्वास बोकेको स्थल हो। स्नान गर्दा रोग निको हुने जनविश्वास रहेको यो स्थल संरक्षण अभावमा जीर्ण बन्दै गएको छ।
🔸 मानिक दह
लहान–२४ मा अवस्थित विशाल जलासय मानिक दहमा सलहेस स्नान गर्ने स्थान मानिन्छ। हरियाली, मन्दिर र स्नानस्थलले यसलाई आस्था र सौन्दर्यको केन्द्र बनाएको छ। नगरपालिकाले रु ७० लाख खर्चेर घाट, मन्दिर र सिँढी निर्माण गरिसकेको छ।
🔸 राजदेवी मन्दिर
लहान–१५ मा रहेको राजदेवी मन्दिर भाकल पूर्ति गर्ने देवीस्थानका रूपमा परिचित छ। वैशाख पूर्णिमामा हजारौँ बोकाको बलिदान दिइने चलन यस क्षेत्रको विशेषता हो। अहिले मन्दिर परिसरको सौन्दर्यकरण कार्य जारी छ।
मानवअधिकारकर्मी राजकुमार राउत भन्छन्, “एउटै नगरपालिकामा यति धेरै ऐतिहासिक र सांस्कृतिक सम्पदा हुनु आफैँमा अद्वितीय कुरा हो। संरचना निर्माण र प्रचारप्रसारमा जोड दिएर लहानलाई समृद्ध धार्मिक–पर्यटकीय नगरी बनाइनुपर्छ।”
नेपाल सरकार, प्रदेश सरकार र सरोकारवाला निकायले संयुक्त गुरुयोजना बनाएर सन्तुलित विकास, सांस्कृतिक पुनर्जागरण र स्थानीय पहिचानको संरक्षण गर्न सके, लहान निकट भविष्यमा नेपालको प्रमुख धार्मिक–पर्यटकीय गन्तव्य बन्न सक्छ।

