देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १३ असार – नेपालभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्नेछ। आज राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी पनि दिइएको छ। महाशाखाले सम्भावित भारी वर्षाको जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ।

