प्रधानमन्त्री ओली स्वदेश फर्कनु हुँदै

काठमाडौँ, २० असार – विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कनुहुनेछ। सूचना तथा प्रसारण विभागले जनाएको छ कि प्रधानमन्त्री ओली आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ असार १४ गते शनिबार स्पेन प्रस्थान गर्नुभएको थियो।

स्पेनमा उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग तथा स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो सान्चेजसँग दुईपक्षीय भेटवार्ता गर्नुभएको थियो। साथै, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइज मोंटिन्यागोसित पनि उहाँले भेटवार्ता गर्नुभएको थियो।

प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता पनि उहाँले गर्नुभएको थियो। विभिन्न छलफल सत्रहरूमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो। विकास सहायतामा नयाँ सोचसम्बन्धी उच्चस्तरीय छलफल र अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाग लिएको थियो।

बिहीबार मात्र उहाँले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबेउ रङ्गशाला भ्रमण गर्नुभएको थियो। त्यस्तै, स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षण र नेपाली समुदायसँग छलफल पनि उहाँले गर्नुभएको थियो। केही समयअघि मात्र प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहा प्रस्थान गर्नुभएको थियो।

Facebook Comments Box