प्रतिनिधिसभाबाट १९ खर्ब ६४ अर्बको बजेट पारित
काठमाडौँ, १० असार – संघीय प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारद्वारा प्रस्ताव गरिएको रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट पारित गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा पेश गर्नुभएको विनियोजन विधेयक २०८२ आजको बैठकले बहुमतले पारित गरेको हो। यसअघि प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथि हुने छलफलमा ढिलाइ भएको थियो।
त्यस्तै, विद्युत् खरिदसम्बन्धी ‘टेक एन्ड पे’ व्यवस्थाप्रति ऊर्जा व्यवसायीहरूको असहमति र आलोचना बढेपछि त्यसले बजेट पारित प्रक्रियामा थप विवाद सिर्जना गरेको थियो।
नेपाली कांग्रेसले समेत उक्त व्यवस्था नसच्याइए बजेट पारित गर्न नदिने चेतावनी दिएको थियो। त्यसपछि अर्थमन्त्री पौडेलले मंगलबार ‘टेक एन्ड पे’को प्रावधान फिर्ता लिएको जानकारी दिँदै सहमति कायम गर्नुभएको थियो। प्रावधान सच्याएपछि बजेट पारितको बाटो खुलेको हो।

