आश्रममा आश्रित बालबालिकाको शिक्षा र पुनःस्थापनाका लागि सहयोग
काठमाडौँ, २ साउन – मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा तथा काठमाडौँबाट उद्धार गरिएका असहाय व्यक्तिको उपचार र पुनःस्थापनाका लागि ‘आईडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको समन्वयमा भएको त्रिपक्षीय सम्झौताअनुसार २७ लाख रुपैयाँ बालबालिकाको शिक्षामा र १३ लाख रुपैयाँ उद्धार गरिएका व्यक्तिको स्वास्थ्योपचारमा खर्च गरिनेछ।
सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, आईडीपीका कन्ट्री डाइरेक्टर कविर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका हुन्। सम्झौता कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सामाजिक समितिका संयोजक रामकुमार केसीको पनि उपस्थिति रहेको थियो।
सम्झौतासँगै आईडीपीका कन्ट्री डाइरेक्टर खड्गीले शिक्षा कार्यक्रमका लागि १० लाख ८० हजार रुपैयाँ र स्वास्थ्य कार्यक्रमका लागि १० लाख ४० हजार रुपैयाँ गरी पहिलो किस्ताबापत २१ लाख २० हजार रुपैयाँको चेक मानव सेवा आश्रमलाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा कार्यवाहक प्रमुख डङ्गोलले मानवीय सेवामा निजी क्षेत्रको सहभागिता बढ्दै जाँदा काठमाडौँलाई मानवतामुखी सहर बनाउने अभियान थप प्रभावकारी बन्दै गएको बताउनुभयो। सामाजिक समितिका संयोजक केसीले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत भएको सहयोगले निजी क्षेत्रको सामाजिक प्रतिबद्धता बलियो बनाएको उल्लेख गर्नुभयो।
आईडीपीका कन्ट्री डाइरेक्टर खड्गीले पहिलो वर्षको कार्यक्रमको प्रभाव मूल्याङ्कनपछि सहयोगलाई निरन्तरता दिने योजना रहेको बताउनुभयो। मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले प्राप्त सहयोग सम्झौताअनुसार तोकिएको उद्देश्यमा मात्रै खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सम्झौताअनुसार कार्यक्रमको अनुगमन काठमाडौँ महानगरपालिकाले गर्नेछ भने कार्यान्वयनको जिम्मेवारी मानव सेवा आश्रमले लिनेछ। विपन्न, अशक्त, घरबारविहीन तथा शारीरिक रूपमा कमजोर व्यक्तिको शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ। शिक्षा कार्यक्रमअन्तर्गत आश्रममा रहेका विद्यालय उमेरका बालबालिकाका लागि विद्यालय शुल्क, पोशाक, शैक्षिक सामग्री तथा अध्ययनलाई निरन्तरता दिन आवश्यक अन्य सहयोग उपलब्ध गराइनेछ।
हाल मानव सेवा आश्रमले बुटवल, हेटौँडा र गोरखामा बालगृह सञ्चालन गर्दै आएको छ। ती बालगृहमा ९१ बालक र ६४ बालिका गरी १५५ जना बालबालिका आश्रित छन्। तीमध्ये १२० जना विद्यालय जाने उमेरका छन् भने ३५ जना विभिन्न प्रकारका अपाङ्गताका कारण आश्रममै विशेष हेरचाहमा रहेका छन्।
स्वास्थ्य कार्यक्रमअन्तर्गत काठमाडौँका सडकबाट उद्धार गरिएका व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य उपचार, औषधि तथा पुनःस्थापनामा सहयोग गरिनेछ। हाल आश्रमका विभिन्न सात शाखामा ५०५ जना आश्रित रहेको मानव सेवा आश्रमले जनाएको छ।

