अमेरिकासामु इरानको प्रस्ताव : सात दिनभित्र होर्मुज जलडमरूमध्य खोल्ने
काठमाडौँ । इरानले आवश्यक सर्त पूरा भएमा सात दिनभित्र स्ट्रेट अफ होर्मुज अर्थात् होर्मुज जलडमरूमध्य खोल्ने प्रस्ताव अमेरिकासामु राखेको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले यस्तो प्रस्तावबारे जानकारी दिनुभएको हो ।
कतारलगायत मध्यस्थमार्फत अमेरिकासम्म पुर्याइएको प्रस्तावमा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी तेलमाथिका प्रतिबन्ध सहज बनाउने र लेबनानसहितका क्षेत्रमा युद्धविराम कायम गर्ने सर्त समेटिएको बताइएको छ । यी सर्त स्वीकार भएमा सात दिनभित्र जलडमरूमध्य खोल्ने र आणविक विषयमा वार्ता पुनः सुरु गर्ने इरानको प्रस्ताव छ ।
विदेशमन्त्री अराघचीका अनुसार प्रस्ताव जुन महिनामा भएको समझदारीको आधारमा तयार गरिएको हो । उहाँले वासिङ्टनले प्रस्ताव स्वीकार गरेपछिको भोलिपल्टदेखि सातदिने समयसीमा सुरु हुने बताउनुभएको छ । जुन महिनामा अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारीमा सैन्य कारबाही अन्त्य गर्ने, इरानले आणविक हतियार विकास नगर्ने तथा होर्मुजमार्फत व्यावसायिक जहाजलाई सुरक्षित आवतजावतको व्यवस्था गर्ने विषय समेटिएका थिए । उक्त समझदारीपछि द्वन्द्व पुनः चर्किएको थियो ।
अमेरिकी पक्षले भने मध्यस्थमार्फत सम्पर्क र वार्ता भइरहेको जनाएको छ । अमेरिकी अधिकारीहरूले आफूहरू तत्काल हतारमा नरहेको संकेत गरेका छन् । यसैबीच, होर्मुज जलडमरूमध्यको अवरोधका कारण विश्व बजारमा तेल आपूर्ति र मूल्यमा दबाब परेको छ ।
विश्वको महत्वपूर्ण ऊर्जा मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्यबाट सामान्य अवस्थामा विश्वको ठूलो हिस्सा तेल तथा प्राकृतिक ग्यासको ढुवानी हुने गर्छ । यसको सञ्चालनमा आएको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।

