सात स्थानको अवरुद्ध सडक खुलाइयो, तीन स्थान अझै ठप्प

काठमाडौँ, ७ असार – पछिल्ला दुई दिनको भारी वर्षाका कारण देशका विभिन्न क्षेत्रमा पहिरो र बाढीले अवरुद्ध बनाएका १० स्थानमध्ये ७ स्थानका सडक पुनः सञ्चालनमा आएका छन् भने ३ स्थानमा अझै यातायात ठप्प रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता विनोद घिमिरेका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी खोलामा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन। सोही स्थानमा यात्रुबाहक सवारीसाधन बगाउँदा यात्रुहरूको सकुशल उद्धार गरिएको थियो।

त्यस्तै, रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थित जङ्डाँडामा पहिरोले घोराही–रुकुम सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पाल्पाको तिनाउ नगरपालिका–३ सुरुङमार्गमा आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग ठप्प छ। यी स्थानहरूमा सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रवक्ताले जानकारी दिनुभयो।

सञ्चालनमा आएका सात सडकहरू यसप्रकार छन्:

  • ललितपुरको बागमती गाउँपालिकामा अवरुद्ध कान्ति लोकपथ

  • धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरोले बन्द भएको स्थानीय सडक

  • नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङ्टारमा कालिगण्डकी करिडोर

  • म्याग्दीको बेनी–जोमसोम सडक

  • गुल्मीमा पहिरोले अवरुद्ध कालिगण्डकी करिडोर

  • जुम्लामा अवरुद्ध जुम्ला–मुगु सडक

  • डोल्पाको भेरी करिडोर (एकतर्फी सञ्चालनमा)

प्रवक्ता घिमिरेका अनुसार भेरी करिडोर दुईतर्फी सञ्चालनका लागि प्रयास भइरहेको छ।

यसैबीच, देशभर मनसुन सक्रिय रहेकाले आगामी दिनमा पहिरो तथा बाढीको जोखिम अझै बढ्ने प्रक्षेपण छ। प्रहरीले यात्रा गर्दा सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा सतर्कता बढाउन आग्रह गरेको छ।

Facebook Comments Box