पोखरा बसपार्क निर्माणको तयारी तीव्र, व्यापारिक संरचना हटाइयो
कास्की, असार ९ – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित सुविधासम्पन्न बसपार्क निर्माणको तयारीलाई तीव्रता दिँदै बसपार्क क्षेत्रभित्र रहेका व्यापारिक संरचनाहरू हटाएको छ। बसपार्क निर्माणका लागि आवश्यक ‘साइट क्लियर’ गर्ने अभियानअन्तर्गत बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फका सटर, कबल र अन्य व्यापारिक संरचना हटाइएको हो।
विसं २०३० मा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गामा करिब पाँच दशकपछि निर्माण प्रक्रिया अगाडि बढाउन संरचना हटाउने काम सुरु गरिएको महानगरले जनाएको छ। हटाइएका संरचनाको क्षेत्रमा सरसफाइ तथा जग्गा सम्याउने कामसमेत सम्पन्न गरिएको छ। यद्यपि, बसपार्क निर्माणमा मुख्य चुनौतीका रूपमा रहेको सुकुमवासी बस्तीको व्यवस्थापन भने अझै बाँकी छ। बसपार्क क्षेत्रभित्र रहेका तीन वटा सुकुमवासी बस्तीमा हाल ५७२ परिवार बसोबास गर्दै आएका छन्।
महानगरपालिकाले उनीहरूको वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउने योजना नरहेको स्पष्ट पारेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुकुमवासीको तथ्याङ्क प्रमाणीकरणको काम भइरहेको जानकारी दिँदै केही व्यक्तिले झुट्टा विवरण पेस गरेको पाइएको बताउनुभयो। उहाँका अनुसार वास्तविक विवरण पुष्टि भएपछि मात्र स्थानान्तरण प्रक्रिया अघि बढाइनेछ।
“सुकुमवासीको उचित व्यवस्थापन नगरी कसैलाई पनि हटाइँदैन,” प्रमुख आचार्यले भन्नुभयो, “विवरण प्रमाणीकरण सम्पन्न भएपछि मात्रै स्थानान्तरणको प्रक्रिया सुरु हुन्छ।” उहाँले बस्तीभित्र बाहिरी व्यक्तिहरू प्रवेश गरी भ्रम फैलाउने र स्थानीयलाई भड्काउने प्रयास भइरहेको भन्दै यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गर्नुभयो।
बसपार्क क्षेत्रभित्रको बास्तोला कम्प्लेक्स तथा पेट्रोलपम्प लाइनको जग्गा हाल निजी स्वामित्वमा रहेको छ। बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा पछि पोखरा उपत्यका नगर विकास समितिले सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको विषयमा छानबिन गर्न महानगरले पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ। समितिको प्रतिवेदन भने अझै सार्वजनिक भएको छैन।
यसैबीच, बसपार्क क्षेत्रका सुकुमवासीहरूले आफूहरूको वैकल्पिक व्यवस्थापन भएलगत्तै स्थान खाली गर्न तयार रहेको बताएका छन्। सुकुमवासी सरोकार समितिका अध्यक्ष प्रेम गुरुङले विकास निर्माणमा आफूहरू बाधक नरहेको उल्लेख गर्दै बसोबासको उपयुक्त विकल्प उपलब्ध गराइएमा सहज रूपमा स्थानान्तरण हुने बताउनुभयो।
“हामी विकासविरोधी होइनौँ,” उहाँले भन्नुभयो, “महानगरले बस्ने ठाउँको व्यवस्था गरिदिएपछि हामी बसपार्क क्षेत्र खाली गर्न तयार छौँ।” पोखरा महानगरपालिकाले बसपार्क निर्माणलाई प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार विकास तथा भूमि व्यवस्थापनका कामलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

