चितुवाको आक्रमण : नियन्त्रणमा आउन सकेन नरभक्षी चितुवा

तनहुँ, ५ असार – तनहुँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा ६ वर्षीय बालकको ज्यान लिने चितुवा अझै नियन्त्रणमा आउन सकेको छैन। घटनाको नौ दिन बितिसक्दा पनि चितुवा फेला नपरेपछि स्थानीयवासी त्रसित बनेका छन्। गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा खेलिरहेका उत्सव गुरुङमाथि चितुवाले आक्रमण गरी ज्यान लिएको थियो।

त्यसयता चितुवा समात्न सिद्धथान सामुदायिक वनमा बाख्रासहित पाँचवटा खोर राखेर पासो थापिएको छ। चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक, राष्ट्रिय प्राकृतिक संरक्षण कोष र वन्यजन्तु प्राविधिकको डार्टिङ टोलीले निगरानी बढाएका छन्।

डिभिजन वन कार्यालयका वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार चितुवाको पदचिन्ह र गन्तव्य पहिचान भइसकेको छ र चाँडै नियन्त्रणमा लिने योजना बनाइएको छ। डार्टिङ टोलीले चितुवा देखिएमा बेहोस बनाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको छ।

यसअघि पनि बन्दीपुर क्षेत्रमा चितुवाको आक्रमणमा परेर ज्यान गुमाउने बालबालिकाको सङ्ख्या बढ्दो छ। चालु आर्थिक वर्षको ११ महिनामा तीन बालबालिकाको ज्यान गएको छ। वन कार्यालयका तथ्याङ्क अनुसार २०७४ सालदेखि हालसम्म १७ बालबालिका चितुवा आक्रमणमा परेर ज्यान गुमाइसकेका छन्।

चितुवा आक्रमणका घटना भानु, आँबुखैरेनी, व्यासलगायतका पालिकामा पनि घटेका छन्। पछिल्ला आठ वर्षमा २१ जना घाइते भएका छन्। डिभिजन वन कार्यालयले साँझपख घरबाहिर ननिस्कन, बालबालिकालाई एक्लै नछाड्न, र चितुवा देखिए तुरुन्त जानकारी गराउन आग्रह गरेको छ। चितुवाले मृग, कुकुर, गाईवस्तु नभेट्दा बालबालिका सिकार बन्ने सम्भावना बढी हुने भएकाले विशेष सतर्कता अपनाउन जनाइएको छ।

Facebook Comments Box