सीमा नाकाबाट फर्कनेमा फेरि देखियो कोरोना संक्रमणको जोखिम
कञ्चनपुर, ५ असार —भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाकाहरु हुँदै नेपाल फर्किने यात्रुहरूमा कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको पाइएको छ। बुधबार भारतको हल्द्वानीबाट गड्डाचौकी नाका हुँदै फर्किएका बर्दियाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसोलेसन कक्षमा उपचाररत छन्।
प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार ती व्यक्तिमा उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो। गड्डाचौकी हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा उनको नतिजा ‘पोजेटिभ’ आएको हो।
महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार बिरामीको अवस्था हाल केही सुधारोन्मुख छ। पछिल्लो चरणमा आइसोलेसनमा उपचार गरिनुपर्ने यो पहिलो संक्रमित हुन्। यता, सीमा नाकाबाट फर्किएका शंकास्पद पाँच जनाको परीक्षण गर्दा एक जनामा मात्रै संक्रमण पुष्टि भएको छ।
गत जेठ २१ गतेदेखि असार ४ गतेसम्म भारतबाट फर्किएका २३ जनामा संक्रमण देखिएको छ। तीमध्ये १६ जना निको भइसकेका छन् भने ७ जना हाल पनि होम आइसोलेसनमा छन्। सीमा क्षेत्रमा रहेका गड्डाचौकी, गौरीफण्टा, झुलाघाट, खकरौला र पुलघाट नाकामा हेल्थ डेस्कमार्फत शंकास्पद बिरामीहरूको परीक्षण र निगरानी जारी छ।
स्वास्थ्यकर्मीहरूले संक्रमण फैलिन नदिन सतर्कता अपनाउन आग्रह गरेका छन्। मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग र होम आइसोलेसनमा इमान्दारीपूर्वक बस्नुपर्ने उनीहरूको सुझाव छ।

