तीनकुने घटना: रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं, ३ असार – गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न ठहरिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। मिश्र मंगलबार आफैं अदालतमा उपस्थित भएका थिए।
यसअघि, घटनामा संलग्न रहेका अर्का आरोपी राप्रपाका महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भई ३ लाख धरौटीमा छुटेका थिए। धरौटीमा छुटेपछि सांसद राणा आज प्रतिनिधिसभाको बैठकमा समेत सहभागी भइसकेका छन्।
तीनकुने घटनालाई लिएर मिश्रविरुद्ध जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।
गत चैत १५ गते राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको मृत्यु भएको थियो। सो घटनालाई उक्साउने उत्तेजक अभिव्यक्ति दिएको आरोप मिश्रमाथि लागिएको छ। घटनाका योजनाकारको रुपमा चिनिएका दुर्गा प्रसाईंलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।

