धरान उपमहानगरमा श्रमदानको भुक्तानी विवाद चर्कियो, मेयर र उपमेयर पक्षबीच झडप
धरान, ३ असार – धरान उपमहानगरपालिकामा श्रमदानको भुक्तानीलाई लिएर मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघा पक्षबीच तीव्र विवाद र झडप भएको छ। मंगलबार दिनभर नगरपालिका परिसर तनावग्रस्त बनेको थियो।
‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले उपमहानगरसँग १७ लाख ४० हजार रुपैयाँ बराबरको काम गरेको दाबी गर्दै ९ लाख ९८ हजार रुपैयाँ श्रमदानमार्फत पुरा गरिएको बताएको थियो। बाँकी ७ लाख ४१ हजार रुपैयाँको भुक्तानी माग गरेपछि उपमेयर बेघाले रकम रोकिदिएका थिए।
विवाद त्यसबेला चुलिएको थियो जब उपमेयर बेघाले श्रमदानमा प्रयोग गरिएको नगरपालिकाको सवारी साधनको चाबी फिर्ता गर्न निर्देशन दिए। चाबी नदिएको भन्दै मेयर पक्षधरले आक्रोश व्यक्त गर्दै सोमबार सामान्य भनाभन गरेका थिए भने मंगलबार भने अवस्था हात हालाहालसम्म पुगेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले जानकारी दिए।
उनका अनुसार मंगलबार मेयर समर्थकहरूले उपमेयरसँग चाबी फिर्ता माग गरेपछि भनाभन चर्किएको थियो। बेघाले ‘चाबी छैन’ भनेपछि दुवै पक्ष आक्रोशित बनेका थिए।
झडप बढ्दै जाँदा बेघा पक्षले पनि आफ्ना समर्थकलाई बोलाएपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले हस्तक्षेप गरी दुवै पक्षलाई नगर परिसरबाट हटाएपछि अवस्था सामान्य बनेको हो।
मेयर समर्थकहरूले उपमेयरले जनश्रमद्वारा भइरहेका काममा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएका छन्। उपमेयर पक्षले भने सरकारी सवारीसाधनको दुरुपयोग हुन नदिने अडान दोहोर्याएको छ।

