दबाबपछि काठमाडौँका मेयर बालेन शाहले बोलाए समिति बैठक

काठमाडौं, ३ असार – कार्यपालिका र नगरसभा सदस्यहरूको लगातारको दबाबपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाएका छन्। स्रोतका अनुसार बैठक असार ४ गते (भोलि) बिहान ११ बजेका लागि तय गरिएको छ।

उक्त समितिमा उपमेयर सुनिता डंगोल, कार्यपालिका सदस्य नविन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन र अनिता कार्की डोली सदस्य छन्। तर, समितिका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिना जानकारी बैठक राखिएको जानकारी स्रोतले दिएको छ।

सम्बन्धित कानुनी प्रावधानअनुसार समिति बैठकमा सदस्य सचिवको उपस्थिति अनिवार्य हुन्छ। तर, गुरागाईंलाई ‘बाइपास’ गरिएपछि बैठकको वैधानिकता र प्रभावकारिता सम्बन्धी अन्योल देखिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० भित्र बजेट पेश गर्नुपर्ने र असार मसान्तभित्र पारित गर्नुपर्ने बाध्यता छ। तर, संयोजक मेयर शाहकै नेतृत्वमा गठन भएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अझैसम्म नबसेको अवस्था थियो।

यसैगरी, कार्यपालिकाको बैठक कम्तीमा महिनामा एकपटक बस्नुपर्ने कानुनी व्यवस्था छ। तर, काठमाडौं महानगरपालिकामा पछिल्लो सात महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन। नगरसभाको बैठक पनि ६ महिनामा अनिवार्य रूपमा बस्नुपर्ने प्रावधान विपरीत हालसम्म बस्न सकेको छैन। यसले गर्दा बजेट प्रक्रिया नै अन्योलमा परेको छ।

Facebook Comments Box