आज साउने सङ्क्रान्ति, स्नान, दान र शिवपूजासहित देशभर मनाइँदै

काठमाडौँ, १  साउन – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा पूजा–आराधनाका साथ मनाइँदैछ। सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ। आजदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन सुरु भएको मानिन्छ। वैदिक सनातन परम्परामा माघ १ गतेदेखि सुरु हुने उत्तरायण र साउन १ गतेदेखि सुरु हुने दक्षिणायनलाई विशेष धार्मिक महत्वका साथ मनाइन्छ।

धार्मिक परम्परासँगै साउने सङ्क्रान्तिको स्वास्थ्यसँग पनि सम्बन्ध रहेको मानिन्छ। अधिकांश नेपाली असारभर धान रोपाइँलगायत कृषिकर्ममा व्यस्त रहने भएकाले हिलोमैलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्न यस दिन ‘लुतो फाल्ने’ परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन्।

परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको पूजा गर्ने र त्यसपछि अगुल्टो फाल्ने चलन छ। यस अवसरमा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने तथा ढोका बन्द गर्ने परम्परासमेत विभिन्न समुदायमा प्रचलित छ।

साउन महिनालाई भगवान् शिवको विशेष आराधनाको महिना मानिने भएकाले आजदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको चहलपहल बढेको छ। विशेषगरी महिलाले हरियो चुरा, हरियो पोशाक र मेहेन्दी लगाएर साउन महिनाको स्वागत गर्ने परम्परा पनि नेपाली समाजमा प्रचलित छ।

Facebook Comments Box