नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु, पाँच महिनामा १ अर्ब २९ करोड आम्दानी हुने

काठमाडौँ, १ असार – नेपाल विद्युत् प्राधिकरणले यस वर्ष बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। आज (असार १ गते) देखि भारतीय प्रसारण लाइनमार्फत बङ्गलादेशमा निर्यात सुरु गरिएको हो। गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि बङ्गलादेशमा विद्युत् निर्यात गरिएको थियो।

त्यसपछि नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपिसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौता भएको थियो। उक्त सम्झौताको आधारमा यस वर्ष लगातार पाँच महिनासम्म विद्युत् निर्यात गरिने भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपालमा बढी हुने विद्युत् बङ्गलादेश र भारतजस्ता छिमेकी मुलुकमा निर्यात गर्न पाउनु सुखद समाचार भएको बताउनुभयो। “बङ्गलादेशमा विद्युत् निर्यात हुनु नेपालको समृद्धि र ऊर्जा व्यवसायीका लागि उत्साहजनक कुरा हो,” मन्त्री खड्काले भन्नुभयो।

यस वर्ष निर्यात हुने ४० मेगावाट विद्युत् मध्ये १८.६० मेगावाट त्रिशूली जलविद्युत् केन्द्रबाट र २१.४० मेगावाट चिलिमे जलविद्युत् आयोजना हुँदै आपूर्ति गरिनेछ। विद्युत् ढल्केबर ४०० केभी सबस्टेशन हुँदै भारतको मुजफ्फरपुर र बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म प्रवाह हुनेछ।

विद्युत् प्रणाली नियन्त्रण विभागका उपप्रबन्धक सुवर्ण सापकोटाका अनुसार आगामी नोभेम्बर १५ सम्म जम्मा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् बङ्गलादेशमा निर्यात हुने छ। प्रति युनिट ६.४० अमेरिकी सेन्टका दरले बिक्री हुने विद्युत्बाट नेपालले झण्डै रु १ अर्ब २९ करोड आम्दानी गर्ने अनुमान गरिएको छ।

सरकारको ऊर्जा विकास मार्गचित्र–२०८१ अनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको छ। दीर्घकालीन रूपमा यो निर्यातले नेपालको ऊर्जा सन्तुलन, जलविद्युत्को उपयोग र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

भारततर्फ पनि विद्युत् निर्यातको निरन्तरता

नेपाल विद्युत् प्राधिकरणले भारततर्फको विद्युत् निर्यातलाई पनि निरन्तरता दिएको छ। जेठ १८ (जुन १) देखि भारतको हरियाणा राज्यमा १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएको प्राधिकरणले शनिबारदेखि त्यो परिमाण बढाएर २०० मेगावाट पुर्‍याएको छ।

यसैगरी गए राति १२ बजेबाट बिहार राज्यमा ८० मेगावाट विद्युत् निर्यात सुरु गरिएको छ। साथै, ढल्केबर–मुजफ्फरपुर ४०० केभी र १३२ केभी प्रसारण लाइनमार्फत पनि भारतमा थप विद्युत् आपूर्ति भइरहेको छ। वर्षायाममा विद्युत् उत्पादनमा वृद्धि हुने भएकाले आन्तरिक मागभन्दा बढी उत्पादन भएको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गरिन थालेको प्राधिकरणले जनाएको छ।

Facebook Comments Box