पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटना, प्रहरी सहायक हवल्दारको मृत्यु

पथरी (मोरङ), १ असार: मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। बेलबारी नगरपालिका–४ घर भई इलामको जमुना प्रहरी चौकीमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको शनिबार साँझ ८ बजे कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र १–०२–०४३प २४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। चौधरीको साथमा उनकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन पनि सवार थिए। दुर्घटनामा श्रीमती र छोरी दुवै घाइते भएका छन्।

विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ। दुवैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। विमला पनि जमुना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हुन्। दुर्घटना मोटरसाइकलको तीव्र गतिका कारण भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ। काकडभिट्टा–लौकही सडक निर्माणको क्रममा रहेको र पूर्वपश्चिम राजमार्गमा रहेको असुरक्षित डाइभर्सनका कारण यस्ता दुर्घटनाहरू बढिरहेको प्रहरीले बताएको छ।

Facebook Comments Box