निर्वाचन आउन ६० दिन बाँकीः निर्वाचन आचारसंहिता लागू, बालबालिका प्रयोग गर्न नपाइने

काठमाडौँ, २० पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लागू गरेको आचारसंहिताले सरकारी तथा अर्धसरकारी निकायलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा गतिविधि गर्न निषेध गरेको छ ।

आयोगले तय गरेको आचारसंहिताअनुसार कुनै पनि परियोजनाका स्रोत, साधन तथा सम्पत्ति राजनीतिक दल वा उम्मेदवारको समर्थन वा विरोधमा प्रयोग गर्न पाइने छैन । निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा तथा आयोगद्वारा सञ्चालन हुने कार्यक्रममा अवरोध पुर्‍याउने, निर्वाचनसम्बन्धी सामग्री वा सूचनामा तोडमोड, थपघट गर्ने वा गराउने कार्यसमेत निषेध गरिएको छ ।

आचारसंहिताले सरकारी, अर्धसरकारी निकाय, सार्वजनिक संस्था, विश्वविद्यालय, विद्यालय तथा महाविद्यालयको परिसर प्रयोग गरी निर्वाचनसम्बन्धी भेला, बैठक वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ । यस्तै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित पहिरन, सामग्री, स्टिकर, लोगो, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्न पनि रोक लगाइएको छ ।

घरधनी वा जग्गाधनीको स्वीकृति नलिई निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ । साथै निर्वाचन प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्न नपाइने व्यवस्था स्पष्ट रूपमा आचारसंहितामा समेटिएको छ ।

सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस, आमसभा, कोणसभा, भेला वा अन्य कुनै पनि प्रकारका निर्वाचन गतिविधि गर्न नपाइने जनाइएको छ । सामाजिक सञ्जालमार्फत गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउनसमेत निषेध गरिएको आयोगले जनाएको छ ।

Facebook Comments Box