निर्वाचन आउन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
काठमाडौँ, २५ पुस – निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई निश्चित शुल्क तिरेर देशभरका मतदाताको विवरण उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरको मतदाता नामावली लिन रु १० हजार शुल्क तिर्नुपर्नेछ ।
यस्तो विवरण आयोगमा दर्ता भएका राजनीतिक दलले दलको औपचारिक पत्रको आधारमा प्राप्त गर्न सक्नेछन् । आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउने जनाएको छ । मतदाता नामावली हार्डड्राइभ वा पेनड्राइभमार्फत उपलब्ध गराइनेछ । कुनै एक प्रदेशको मात्र मतदाता विवरण आवश्यक परेमा रु पाँच हजार शुल्क तोकिएको छ ।
निर्देशिकाअनुसार निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी हेर्न वा सार्न दिनुपर्ने व्यवस्था गरिएको छ ।फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउने र फोटोबाहेकको मतदाता नामावली भने जोसुकैले पनि हेर्न सक्ने विषयमा मतदाता, दल र उम्मेदवारलाई जानकारी गराउनुपर्ने आयोगले जनाएको छ ।
कुनै मतदाताले आफ्नो नामावली मात्र लिन चाहेमा निर्वाचन कार्यालयले रु १० हजार शुल्क लिई सोही मतदाताको विवरण मात्र आउने गरी मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्ने व्यवस्था छ । यसैगरी, आयोगमा दर्ता भएका राजनीतिक दललाई दलको पत्रको आधारमा र स्वतन्त्र उम्मेदवारलाई निवेदनको आधारमा निर्वाचन कार्यालयले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनुपर्नेछ ।
यसका लागि जिल्लाभरको मतदाता नामावलीका लागि रु तीन हजार र कुनै एक निर्वाचन क्षेत्रको मतदाता नामावलीका लागि रु तीन हजार शुल्क तोकिएको छ । निर्देशिकाअनुसार मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरसम्बन्धी विवरण भने उपलब्ध गराइने छैन ।

