राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले लछारपछार पार्दै नियन्त्रणमा लिए
काठमाडौँ, १८ जेठ – राजावादीहरूको प्रदर्शनका क्रममा शाहीकालीन गृहमन्त्री कमल थापालाई प्रहरीले लछारपछार पार्दै नियन्त्रणमा लिएको छ। राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापालाई प्रहरीले काठमाडौँको नक्सालस्थित नारायण चौरबाट नियन्त्रणमा लिएको हो।
राजावादीको भिड भड्काउने गरी अभिव्यक्ति दिएको कारण नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए। जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादी संगठनले प्रदर्शन गरिरहेका छन्।
राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो। उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए। केहीबेर प्रहरी र राजावादी आन्दोलनकारीबीच धकेलाधकेल भएको थियो। राजावादीले काठमाडौँको नारायणहिटी आसपास पनि प्रदर्शन गर्ने तयार गरेपछि उक्त क्षेत्र प्रशासनले निषेधित घोषणा गरेको थियो।
२०६२-६३ को जनआन्दोलन उत्कर्षमा पुगिरहँदा गृहमन्त्री थापा नै थिए। त्यसबेला लोकतन्त्रको पक्षमा भइरहेको आन्दोलनका सहभागीहरूमाथि गोली चलाउन र ठूलो संख्याका नेता–कार्यकर्तामाथि धरपकड गर्न आदेश दिने थापा नै थिए।

