डेङ्गीबाट बच्न थप सचेत रहन आग्रह
काठमाडौँ, ९ साउन – नियमित पानी परेसँगै डेङ्गी सङ्क्रमित बढ्न थालेको भन्दै काठमाडौँ महानगरपालिकाले थप सचेत रहन आग्रह गरेको छ । अहिलेसम्ममा कामपामा दश जनामा सङ्क्रमण देखिएको भन्दै कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले नियमित पानी परेकाले आगामी दिनमा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
अघिल्लो हप्तासम्म यस रोग नियन्त्रणका लागि हप्तामा एक पटकमात्र लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको कामपाले अहिले हरेक दिन यस्ता किसिमका कार्यक्रम गरिरहेको जनाएको छ । अहिले विभिन्न सङ्घसस्था र कामपाको संयुक्त रुपमा पानी जमेको स्थानको खोजी गर्ने र उक्त स्थानमा रहको लामखुट्टेलाई नष्ट गर्ने काम गरिरहेको विभागका प्रमुख पौडेलले जानकारी दिनुभयो ।
नियन्त्रणकै लागि कामपाले विभिन्न किसिमका अभियानलाई तीव्रता दिइरहेको छ । कोही सङ्क्रमित भइहाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजलको सहज उपलब्ध गराइएको पनि उहाँले जानकारी दिनुभयो । कामपा–१, ७, ८, १४, १९ र २६ स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन भइरहेको छ । सरसफाइमा काम गर्ने कर्मचारीहरु र स्वास्थ्य स्वयम्सेवीका मार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको प्रमुख पौडेलले बताउनुभयो ।
गतका वर्षमा जस्तै यस वर्ष पनि उक्त सङ्क्रमण थप फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न लागेको पौडेलले बताउनुभयो । उहाँका अनुसार उक्त कार्य गर्न नगर प्रहरीमार्फत टोलटोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने तथा वडास्तरमा गठन भएको द्रुत प्रतिकार्य टोलीसमेत परिचालन भएका छन् ।
सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयम्सेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ˗आफ्नो टोलटोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कशप तथा टायर लगायतमा पानी जम्न नदिने काम भइरहेको छ ।
एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगका विरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षणहरू देखापर्दछ

