मनसुन प्रवेश गरेयता देशमा मौसम बदली र वर्षा
काठमाडौं, ३२ जेठ – मनसुन प्रवेश गरेयता देशमा मौसम बदली र वर्षा हुने क्रम बढेको छ। मनसुन प्रवेश गरेको पहिलो दिन बुधबार नै देशका विभिन्न स्थानमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
यस्तै दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र देशका बाँकी पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै मधेश प्रदेशसहित देशका बाँकी पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। देशभरका पहाडी भेगसँगै कोशी प्रदेशको तराई र मधेश प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वर्षा सुरु भइसक्दा मध्य तथा पश्चिम तराईमा भने गर्मी यथावत् छ। खासगरी लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईमा मौसम बदली र वर्षा हुन नसक्दा अत्यधिक गर्मी भइरहेको महाशाखाले जनाएको छ।

