साउनको पहिलो सोमबार: पशुपतिनाथ मन्दिरका चारै ढोका बिहानैदेखि खुला
काठमाडौँ, ५ साउन – साउन महिनाको पहिलो सोमबारको अवसरमा आज बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारैवटा ढोका भक्तजनका लागि खुला गरिएको छ। पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटका अनुसार आज दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिरमा प्रवेश गरी दर्शन गर्ने अनुमान गरिएको छ। त्यसअनुसार सबै तयारी मिलाइएको कोषले जनाएको छ।
साउन महिनाका सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू व्रत बसी भगवान् शिवको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाउने गर्दछन्। आज बिहानैदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। विशेष पूजाका लागि रु ७,५०० भन्दा कम शुल्कमा टिकट नकटिने व्यवस्था गरिएको कोषले जनाएको छ।
विशेषगरी महिलाहरूले आजको दिन विधिपूर्वक व्रत बसेर शिवालयमा पूजा गर्ने परम्परा छ। साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना तथा बार मानिने भएकाले आज पूजा गरेमा मनोकामना पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।
मारवाडी समाजले भक्तजनका लागि आजमात्र होइन, सोमबारबाहेकका दिनमा पनि निःशुल्क भोजनको व्यवस्था मिलाएको छ। यस वर्षदेखि कोषले भक्तजनको सुविधाका लागि चक्रपथ परिक्रमा गर्ने निःशुल्क बस सेवा सुरु गरेको छ। चारवटा बसमार्फत चक्रपथमा दर्शनार्थीलाई सेवा दिइनेछ, र यो सेवा साउन महिनाका चारै सोमबार निरन्तर सञ्चालनमा रहनेछ।

