आज देशभैर वर्षाको सम्भावना

काठमाडौँ, १२ जेठ – आज देशभैर वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशभर बादल विकास भइरहेकाले आज दिउँसो देशैभर वर्षाको सम्भावना देखिएको हो। ‘हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिएको छ’, मौसमविद् मानन्धरले भनिन्, ‘धेरैजसो ठाउँमा हल्का वर्षाकै सम्भावना देखिन्छ।’

उनका अनुसार खासगरी आज मधेश, लुम्बिनी र गण्डकी प्रदशेमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। आज दिउँसो काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्। मौसमविद्का अनुसार १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का र यसभन्दा माथि ५० मिलिमिटरसम्म वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ।

अचेलको वर्षा मेघगर्जन/चट्याङसहित हुने मौसमविद् बताउँछन्। आज वर्षासँगै तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। ‘विशेषगरी लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईमा आज हावाहुरी चल्ने सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्।

महाशाखाको अनुसार आज राति पनि कोशी प्रदेशलगायत देशको पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ‘काठमाडौंमा भने राति वर्षाको सम्भावना देखिएको छैन’, मौसमविद् मानन्धरले भनिन्। मौसम महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

त्यसमा भनिएको छ– कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ। साथै देशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना समेत भएको हुनाले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Facebook Comments Box