विश्व शान्तिको कामनासहित हलेसीमा दीप प्रज्वलन

काठमाडौँ, २५ वैशाख – विश्व शान्तिको कामना गर्दै त्रिधार्मिकस्थल खोटाङको हलेसीमा दीप प्रज्वलन गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आइतबार १०८ वटा दीप तथा दुई लाख २१ हजार बत्ती बालेर विश्व शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।

हलेसीलाई भारतलगायत विश्वभर चिनाउने र धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको होटल व्यवसायी एवं नेपाल दशनामी समाजका निवर्तमान केन्द्रीय अध्यक्ष रुद्र गिरीले बताउनुभयो ।

हलेसीको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने लक्ष्यका साथ हलेसी विकास समिति, हलेसी मन्दिर व्यवस्थापन समिति, होटल व्यवसायी सङ्घ हलेसी, बजार व्यवस्थापन समिति, वडा कार्यालय महादेवस्थान र नेपाल दशनामी समाज खोटाङको संयुक्त आयोजनामा बृहत् दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रथम महिला शङ्कराचार्य हेमानन्द गिरीले हलेसी धार्मिक आस्थाको अलौकिक थलो भएको बताउनुभयो । “मैले १३ वर्षको उमेरमा पहिलो पटक हलेसी दर्शन गरेकी थिएँ । त्यो बेला मलाई वर थाप्नेक्रममा दूध हातमा परेको थियो ।

हलेसीकै वरदानस्वरूप अहिले म प्रथम महिला शङ्कराचार्य बनेकी हुँ”, उहाँले भन्नुभयो, “त्रिधार्मिकस्थल हलेसीको प्रचारप्रसार र प्रवर्द्धन गर्न ३५ वर्षपछि पुनः हलेसी आएकी छु । मेरो क्षेत्रबाट देश तथा विदेशमा हुने हरेक कार्यक्रममा हलेसीको प्रचारप्रसार र प्रवर्द्धनको काम हुनेछ ।”

कार्यक्रममा विश्व हिन्दू महासङ्घका अध्यक्ष एवं भारतका पूर्व शिक्षामन्त्री अजय सिंहले हलेसीको प्रवर्द्धनका लागि आफ्नो अफिसियल पेजमा हलेसीको बारेमा जानकारी राख्ने बताउनुभएको छ । “हाम्रो विश्व हिन्दू महासङ्घ ४५ देशमा विस्तार भएको छ । हरेक देशमा हुने कार्यक्रममा हलेसीको प्रवर्द्धनका काम गर्छु”, उहाँले भन्नुभयो, “हलेसीको प्रवर्द्धनकै लागि विश्व हिन्दू महासङ्घको एउटा बैठक हलेसीमा राख्ने योजना बनाएका छौँ । यसले प्रवर्द्धनमा थप सहयोग पुग्नेछ ।”

कार्यक्रममा सहभागी शङ्कराचार्यको टोलीलाई विभिन्न सङ्घ संस्था तथा व्यक्तिले स्वागत गरेका थिए । हलेसी मन्दिरको प्राङ्गणमा आयोजित दीप प्रज्वलन कार्यक्रममा तीनवटै धर्मावलम्बीका साँस्कृतिक अभियन्ता तथा कलाकारहरूले आ–आफ्नो जातजातिको सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरेका थिए ।

नेपालको प्रथम महिला शङ्कराचार्यको उपस्थितिमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रमले हलेसीको प्रवर्द्धनमा थप टेवा पुगेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । “पछिल्लो समय हलेसी दर्शन गर्न विभिन्न देशका उच्च ओहदाका मानिसहरू आउन थाल्नुभएको छ । यसले हलेसीको प्रचारप्रसार र प्रवर्द्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “नेपालकी प्रथम महिला शङ्कराचार्यले आफैँ उपस्थित भएर हलेसीको महिमागानले हामी उत्साहित भएका छौँ ।”

विश्व शान्तिको कामना गर्दै हलेसीमा पहिलोपटक विश्व हिन्दू महासङ्घले दीप प्रज्वलन गरेको वडा नं ७ महादेवीस्थानका वडाध्यक्ष एवं हलेसी तुवातुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताउनुभयो । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा नेपालस्थित राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीका उच्च ओहदाका व्यक्तिहरू दर्शन तथा अवलोकन गर्न आउने गरेका छन् ।

त्रिधार्मिकस्ल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तीज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । प्राकृतिकरूपले समेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले आफूले चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

Facebook Comments Box