बाढी–पहिरोले ११ स्थानमा प्रमुख राजमार्ग अवरुद्ध, यात्रा अघि सडकको अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौँ, ७ साउन – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बिहीबार बिहानसम्म देशका ११ स्थानमा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने दुई स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ। प्रहरीको विवरणअनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडक खण्डमा बाढी र पहिरोले यातायात अवरुद्ध भएको हो।

पूर्ण रूपमा अवरुद्ध हुने सडकमा इलामको मेची राजमार्ग, खोटाङको मध्यपहाडी राजमार्ग, सिन्धुली र काभ्रेको बीपी राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, दोलखाको लामाबगर–सिङ्गटी–रामेछाप सडक (लामासाँघु–रामेछाप सडक खण्ड), बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेँसीशहर–मनाङ सडक, म्याग्दीको बेनी–जोमसोम सडक तथा रुकुम पश्चिमको भेरी करिडोर (जाजरकोट–डोल्पा सडक) रहेका छन्।

यस्तै, भोजपुरको मध्यपहाडी राजमार्ग र डडेल्धुराको केआई सिंह राजमार्गमा पहिरोका कारण एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम अझै कायम रहेको जनाएको छ। आवश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा यात्रा गर्नुपरे सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा राजमार्गको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै गन्तव्यतर्फ जान सर्वसाधारणलाई आग्रह गरिएको छ।

Facebook Comments Box