सुखी नेपाली अभियानमा पार्टीका जनप्रतिनिधि लाग्नुपर्छ : उपमहासचिव ज्ञवाली

काठमाडौँ, १८ फागुन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने अभियानमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभएको छ । एमाले तनहुँको आयोजनामा बन्दीपुरमा आज सम्पन्न प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले पार्टीबाट निर्वाचित जनप्रतिनिधि जनतालाई सुखी बनाउने अभियानमा लाग्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

नेपालीको राष्ट्रिय आकाङ्क्षा र पार्टी र जनप्रतिनिधिको भूमिका विषयमा उहाँले प्रशिक्षण दिनुभएको हो । नेता ज्ञवालीले पार्टीबाट निर्वाचित प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले यही मूलमन्त्रलाई शिरोधार्य गरी काम गर्न आग्रह गर्नुभयो ।

उहाँले जनताका मुद्दा सम्बोधनका लागि पार्टीले ग्रासरुट अभियान सुरु गरेको बताउनुभयो । जनतासँग नजिक रहेर जनताका मुद्दा सम्बोधनका लागि पार्टीले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको भन्दै उहाँले भन्नुभयो, “दुई महिनासम्म सञ्चालन हुने यो अभियानअन्तर्गत पार्टीका नेताहरु तल्लो तहसम्म पुगेर जनताका मुद्दा सम्बोधनमा लाग्नुहुन्छ ।”

उपमहासचिव ज्ञवालीले वर्तमान राजनीतिक अवस्थाका कारण जनतामा सिर्जित भएका निरासा अन्त्य गराउनुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो । ज्ञवालीले देशमा हाल तीन वटा समस्या रहेको दाबी गर्दै ती समस्याबाट जनतालाई मुक्त गराउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव पद्मा अर्यालले अवसरवाद र सङ्गठनात्मक अराजकताविरुद्ध वैचारिक सङ्घर्षका बारेमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै केन्द्रीय सदस्य सीमा क्षेत्रीले अन्य पार्टीसँग एमालेको वैचारिक भिन्नता, गण्डकी प्रदेश कमिटी सदस्य केदार सिग्देलले सदस्यको काम, कर्तव्य र अधिकार र कार्यशैली माक्र्सवादी दृष्टिकोणकाबारेमा सहजीकरण गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन मङ्गलबार केन्द्रीय सदस्य भगवती न्यौपानेले मिसन ग्रासरुट र उद्देश्य, केन्द्रीय सदस्य घनश्याम कोइरालाले नेतृत्व र प्रस्तुतीकरण विषयमा सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments Box