अविरल वर्षाका कारण च्यासलस्थित एमाले कार्यालयसहित बस्ती जोखिममा

काठमाडौं, १८ असोज – शुक्रबारदेखि जारी अविरल वर्षाका कारण ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय सहितका बस्ती डुबान र बाढी जोखिममा परेका छन् ।

मनोहरा खोला र बागमती नदीमा आएको बाढीले च्यासल क्षेत्रमा तीव्र बहाव बढेपछि एमाले पार्टी कार्यालय र आसपासका घरबस्ती प्रभावित भएका हुन् । बाढीले करिडोर सडक समेत डुबानमा पारी यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, बागमती पुलमा खतराको संकेत देखिएको छ । सर्वसाधारणलाई ओहोर–दोहोर नगर्न माइकिङ गरी चेतावनी दिइएको छ ।एमाले पार्टी कार्यालयसँगै रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदान र केही घरसमेत डुबानमा परेका छन् ।

मनोहरा खोलाको सतह बढ्दै जाँदा पानी एमाले कार्यालय नजिकैको पक्की पुलसम्म पुगेको छ । पुलमा पानीको बहाव रोकिँदा आसपासका बस्तीमा डुबानको जोखिम उच्च बनेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box