ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय १४ चालक कारबाहीमा

काठमाडौँ, ९ फागुन – ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय ९४ चालकलाई पक्राउ गरी कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा सिसिटिभीको सहायताले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय १४ चालकलाई पक्राउ गरी कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सिसिटिभी कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा तीन हजार दुई सय ९२ र ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका एक हजार २२ गरी चार हजार तीन सय १४ जनालाई पक्राउ गरी कारबाही गरिएको जानकारी दिनुभयो ।

कार्यालयका अनुसार साउनमा तीन सय ४१, भदौमा छ सय ८०, असोजमा चार सय ८२, कात्तिकमा तीन सय ६६, मङ्सिरमा छ सय ६२, पुसमा नौ सय २५, माघमा आठ सय १४ र फागुनमा ४४ चालकलाई कारबाही गरेको हो । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रवक्ता भट्टले बताउनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसीटिभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारी साधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् ।

ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन विसं २०७४ बाट सिसीटिभी र विसं २०७५ बाट ‘सर्भिलेन्स भेहिकल’ द्वारा निगरानी गर्दै आएको छ ।

Facebook Comments Box